
दीपेन्द्र अग्रवालमाथि अनुसन्धान गर्न ४ दिन म्याद थप
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई चार दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अनुमति पाएको छ। काठमाडौं जिल्ला अदालतले मंगलबार अग्रवालमाथि थप अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको हो।
झुटो कारोबारमार्फत सेयर मूल्य प्रभावित पारेको अभियोगमा सीआईबीको टोलीले अग्रवाललाई शुक्रबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अध्ययनपछि थप अनुसन्धान आवश्यक देखिएपछि बोर्डले फाइल प्रहरीमा पठाएको थियो।
धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनअनुसार अग्रवालले सेयर लगानीकर्तालाई उक्साउने, १५ जना लगानीकर्ताको नाम प्रयोग गरी सेयरको मूल्य बढाउने तथा आफैँ झुटो कारोबार गर्ने गरेको देखिएको छ। यस्ता गतिविधिबाट बजारमा कृत्रिम प्रभाव पारिएको बोर्डको निष्कर्ष छ।
अग्रवाल यसअघि पनि साउन महिनामा पक्राउ परेर छुटेका थिए। अहिले उनीमाथि सेयर बजारमा अनियमितता र मूल्य हेरफेर गरेको विषयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।



कागजपत्र |
