सिन्धुलीमा भान्सा कोठामा आगलागी: बुहारीको मृत्यु, ससुरा घाइते


सिन्धुली-  सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा भएको आगलागीमा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार अपराह्न करिब साढे ४ बजे धुराफाँटका ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुईतले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठामा अचानक आगलागी भएको हो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

आगलागी हुँदा घरभित्रै रहेकी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जन आगोमा परेकी थिइन् । आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

आगलागीमा ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले जलेको छ । घाइते बम्जनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाउँदै तत्काल जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पतालले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण संकलन भइरहेको र अनुसन्धान पूरा भएपछि आगलागीको वास्तविक कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया