
कञ्चनपुर कारागार झडप: छानबिन गर्न तीन सदस्यीय समिति
कञ्चनपुर- कञ्चनपुर कारागारभित्र दुई दिनअघि कैदीबन्दी र नाइकेबीच भएको झडप तथा विवादको छानबिन गर्न स्थानीय प्रशासनले तीन सदस्यीय समिति गठन गरेको छ।
गत शुक्रबार कारागारभित्र कैदीबन्दी र नाइकेबीच विवाद चर्किँदा भएको झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये दुई जना उपचारपछि कारागार फर्किसकेका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन्।
प्रजिअ ढकालका अनुसार समितिलाई छानबिनका लागि सात दिनको समयावधि दिइएको छ। “आज पनि कारागारको अनुगमनमा जाँदैछौँ,” उनले भने, “घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्नेछ।”
कारागारभित्र नाइकेहरूले एकाधिकार जमाएको आरोप लगाउँदै कैदीबन्दी आन्दोलित भएका थिए। कैदीबन्दीको आरोप छ कि नाइकेहरूले आफूहरूले पाउने सेवा–सुविधामा आर्थिक चलखेल गर्ने तथा कारागारभित्र अवैध गतिविधि सञ्चालन गर्ने गरेका छन्।



कागजपत्र |
