
उच्च पदस्थलाई धम्की दिने ‘एक्ट्रिमिस्ट’का नाइके पाठक पक्राउ
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित देशका उच्च पदस्थलाई लक्षित गरी हत्या धम्की दिने संयोजक प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन्। ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहको संगठन प्रमुख दाबी गर्दै आएका पाठकलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा फिलिपिनो प्रहरीले राजधानी मनिलामा नियन्त्रणमा लिएको हो।
उच्च प्रहरी स्रोतका अनुसार पाठकलाई नेपाल ल्याएर आवश्यक कानुनी कारबाही अघि बढाउन नेपाल प्रहरीको विशेष टोली तयारी अवस्थामा छ। पक्राउपछि औपचारिक हस्तान्तरण प्रक्रिया पूरा गर्न कम्तीमा दुई दिन लाग्ने र टोलीको आवतजावतसहित समग्र प्रक्रिया एक साताभित्र टुंगो लाग्ने अनुमान गरिएको छ।
पाठक नेतृत्वको उक्त समूहले मंसिर दोस्रो साता प्रमुख आयुक्त राईलाई १० दिनको अल्टिमेटम दिँदै हत्या गर्ने धम्की दिएको थियो। अख्तियारको आधिकारिक इमेलमा पठाइएको सन्देशमा १० जनाको हत्या गर्ने योजना बनाइएको र त्यसमा राईको नाम समेत समावेश रहेको उल्लेख थियो।
आफूलाई संगठन प्रमुख बताउने पाठकद्वारा हस्ताक्षरित पत्रमा फरार कैदी प्रयोग गरेर हत्या गराउने र आर्थिक सहयोग गर्ने उल्लेख गरिएको थियो।
प्रहरीले धम्की आएलगत्तै संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र लोकेसन ट्रयाक भइरहेको जनाएको थियो। फिलिपिन्समा पाठक पक्राउ परेसँगै उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिँदै आएको उग्रवादी सञ्जालबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।



कागजपत्र |
