
आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव
जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन्।
आज अपराह्न ४ बजे बोलाइएको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
मंसिर १९ मा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका संसदीय दलका नेता यादव विश्वासको मत लिन लागेका हुन्।
गत सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको सात दलको बैठकमा शुक्रबार विश्वासको मत लिने सहमति भएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने वातावरण मिलाइदिन प्रदेशसभामा पत्र पठाएका थिए।
विश्वासको मत पाउनका लागि बहुमत सदस्यको आवश्यक रहेकोमा मुख्यमन्त्री यादवसँग दुई तिहाई समर्थन छ।
यस अघिका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि अब बन्ने कुनै सरकारलाई विश्वासको मत दिने भनेकाले मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाउने सम्भावना छ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ ९एक निलम्बित०, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका ७ र नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १र१ जना प्रदेश सभा सदस्य छन्।
अहिले एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपा बाहेकका दल सत्तापक्षमा रहेको छ।



कागजपत्र |
