कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली


भैरहवा – चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई बुधबार साँझ कतार पठाइएको छ। चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी दुई हात्ती अब कतारको अलखोर पार्कस्थित वातानुकूलित चिडियाघरमा हुर्किनेछन्।

दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर भावुक वातावरणमा बिदाइ गरिएको थियो। बुधबार साँझ करिब ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली बोकेको कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उडेको हो।

हात्ती हस्तान्तरणका अवसरमा विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीहरूले दुवै हात्तीको नयाँ घरमा सुखद् जीवनको कामना गरे। वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले हात्ती उपहार दिनु अत्यन्तै भावुक क्षण भएको बताए।
‘आफूले पालेका जनावर उपहार दिँदा मुटु टुक्रिएजस्तो भएको छ,’ मिश्रले भने, ‘छोरी अन्माएजस्तै अनुभूति भयो।’

नेपालबाट जाने दुई जना माहुत र एक जना भेटेरिनरी प्राविधिक एक महिनासम्म कतारमै बसेर हात्तीको स्याहार–सुसार तथा व्यवस्थापनबारे त्यहाँका कर्मचारीलाई तालिम दिनेछन्।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काका अनुसार सन् २०२४ अप्रिलमा कतारका अमिरको नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको हात्ती उपहार दिने निर्णयको कार्यान्वयनस्वरूप यो हस्तान्तरण गरिएको हो।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो, जुन सम्बन्ध स्थापना भएको अर्को वर्ष ५० वर्ष पूरा हुँदैछ। कूटनीतिक सम्बन्धको स्वर्णजयन्ती नजिकिँदै गर्दा उपहारस्वरूप हात्ती प्रदान गरिएको सहसचिव खड्काले बताए।

निकुञ्ज विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बुधबार रातिबाट खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घर कतार हुने जानकारी दिए। उनका अनुसार ७ वर्षीया रुद्रकली सन् २०१८ मा र ६ वर्षका खगेन्द्रप्रसाद सन् २०१९ मा खोरसोर हात्ती प्रजनन केन्द्रमा जन्मिएका हुन्।

 

प्रतिक्रिया