
फागुन २१ मा चुनाव नभए संसद् पुनर्स्थापनाकाे माग बढ्छ : डा. शेखर कोइराला
विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते तोकिएको मितिमा आम निर्वाचन नभए प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन्।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले निर्धारित समयमा निर्वाचन नभए देश संवैधानिक संकटतर्फ जाने चेतावनी दिँदै संसद् पुनर्स्थापनाको माग बलियो हुँदै जाने बताए।
‘चुनाव नहुने हो भने संसद् पुनर्स्थापनाको माग अगाडि बढेर जान्छ,’ कोइरालाले भने, ‘अहिलेको सरकार संविधानअनुसार बनेको होइन। यदि संविधानलाई अझै डिले गर्दै जाने हो भने देशको अवस्था के हुन्छ भन्ने गम्भीर रूपमा बुझ्न जरुरी छ। त्यसकारण संसद् पुनर्स्थापना भएर अगाडि जानुपर्छ।’
सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरे पनि चुनावको तयारीका लागि आवश्यक काम अघि बढाउन नसकेको कोइरालाको आरोप छ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको उल्लेख गर्दै उनले संसद् पुनर्स्थापनाको मागसहित कांग्रेसका केही नेताहरू अदालत गएको जानकारी पनि दिए। ‘हामीले निर्वाचनमा भाग लिने भनेका छौँ,’ उनले भने, ‘तर व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै सांसदहरू सर्वोच्च अदालत जानुलाई अन्यथा रूपमा लिनु हुँदैन।’
कोइरालाले आफूहरू निर्वाचनका लागि तयार रहे पनि सरकारले चुनावी वातावरण बनाउन नसकेको आरोप लगाए। तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना अझ बलियो हुने उनको भनाइ छ।
यसैबीच, कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार बन्ने घोषणा पनि गरे। पार्टीको महाधिवेशनसमेत तोकिएकै समयमा हुनुपर्ने उनको भनाइ छ।



कागजपत्र |
