जेनजी आन्दोलन जाँचबुझ आयोगले माग्यो थप एक महिनाको समय


काठमाडौं- भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले आफ्नो कार्यकाल एक महिना थप गर्न सरकारसँग आग्रह गरेको छ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटमा आयोगका पदाधिकारीहरूले म्याद थपको माग राखेका हुन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ५ गते गठन भएको जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने प्रक्रिया अझै जारी रहेकाले थप समय आवश्यक भएको आयोगले बताएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार आयोगलाई कार्य सम्पादनका लागि थप समय आवश्यक छ। उनले प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी दिएकी छिन्।

साथै, प्रधानमन्त्री कार्कीले अर्को हप्ता पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र अन्य राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि उल्लेख गरेकी छिन्।

जाँचबुझ आयोगले जेनजी घटनासम्बन्धी सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ। असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो। आयोगको प्रारम्भिक म्याद यही पुस ९ गते सकिँदै थियो।

प्रतिक्रिया