नेपाली कांग्रेसमा सदस्यता विवाद: सिरियल नम्बर नराखिएका फारम रद्द, नयाँ छापिने


काठमाडौं-  नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियल नम्बर नराखी जिल्ला–जिल्लामा पठाइएका करिब चार लाख नयाँ क्रियाशील सदस्यता फारम रद्द गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको समितिको बैठकले ती फारम अमान्य ठहर गर्दै सिरियल नम्बर समावेश गरिएका नयाँ फारम छापेर पठाउने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार अब सिरियल नम्बर उल्लेख गरिएका नयाँ फारम मात्र मान्य हुनेछन्। समितिका सदस्य प्रकाश स्नेही रसाइलीले २४ घण्टाभित्र नयाँ फारम छापेर देशभरका जिल्ला समितिहरूमा पठाइने निर्णय भएको जानकारी दिए।

यसअघि सिरियल नम्बर नराखिएका फारम फिर्ता माग्ने वा त्यही फारम प्रयोग गरेर सदस्यता वितरण गर्ने भन्ने विषयमा समितिभित्र चर्को विवाद देखिएको थियो।

महामन्त्री गगन थापा र समितिका सदस्य प्रकाश स्नेही रसाइली सिरियल नम्बर नभएकै फारम प्रयोग गरेर सदस्यता भर्न दिनुपर्ने पक्षमा थिए। तर संस्थापन पक्षका सदस्यहरू योगेन्द्र चौधरी र सीता गुरुङ भने ती फारम फिर्ता ल्याएर नयाँ सिरियल नम्बर सहितका फारम मात्र पठाउनुपर्ने अडानमा थिए।

लामो छलफल र आन्तरिक रस्साकस्सीपछि महामन्त्री थापा र सदस्य स्नेही आफ्नो अडानबाट पछि हटेका हुन्।

प्रतिक्रिया