श्रीमती हराएको उजुरी दिने श्रीमान् नै निस्के हत्यारा


सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिकामा कुटपिटपछि श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा एक जना श्रीमान् पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेका छन्। उनलाई शनिबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार प्रेमले गत मंसिर ९ गते राति करिब १०ः३० बजे आफ्नी श्रीमती ३७ वर्षीया मिना शेर्पा मादी नगरपालिका–४ स्थित ओखरबोटे बजारबाट घर फर्कने क्रममा बाटोबाटै बेपत्ता भएको भन्दै प्रहरी चौकी मादी मङ्गलबारेमा निवेदन दिएका थिए।

निवेदनपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। अनुसन्धानका क्रममा श्रीमान् प्रेममाथि शङ्का लागेपछि सोधपुछ गर्दा उनले आफैं श्रीमतीको हत्या गरेको स्वीकार गरेका हुन्।

प्रेमले प्रहरीलाई दिएको बयानअनुसार बजारबाट घर फर्कने क्रममा सामान्य विषयमा विवाद हुँदा बाटोमै कुटपिट गरी श्रीमतीको हत्या गरेका थिए। हत्यापछि सोही राति मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा त्रिपालले शव बेरेर खाडल खनी गाडेको उनले बताएका छन्।

उनको बयानका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा खटिएको अनुसन्धान टोलीले उक्त स्थानमा उत्खनन गर्दा जमिनभित्र त्रिपालले बेरेको अवस्थामा महिलाको शव सडेगलेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले तत्काल प्रेमलाई नियन्त्रणमा लिई सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट आइतबार कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया