महाधिवेशनको पहिलो चरणमै ५१ प्रतिशत मत ल्याएर जित्छु : शेखर कोइराला


काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा आफूले पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गरेर सभापतिमा विजयी हुने दाबी गरेका छन्।

एक टेलिभिजनको  कार्यक्रममा बोल्दै कोइरालाले पार्टीभित्र पावर–सेयरिङको कुरै नरहेको र महाधिवेशन प्रक्रियामा आफू सहज रूपमा अगाडि रहने विश्वास व्यक्त गरे।

महामन्त्रीहरूले क्रियाशील सदस्यता सम्बन्धी काम समयमा पूरा गर्न नसक्दा पार्टीमा सिर्जना भएको विवादका कारण महाधिवेशन २६ पुसबाट केही दिन पछाडि धकेलिन सक्ने उनले बताए। तर केही दिन ढिलाइ हुनु सामान्य प्रक्रिया भएको र यसले पार्टीको तैयारीमा ठूलो असर नपर्ने उनको भनाइ थियो।

सरकारले २१ फागुनमा तोकेको आम निर्वाचनका मितिमा समेत परिमार्जन हुनसक्ने चर्चा बीच कांग्रेसको महाधिवेशन सर्ने कुरा अस्वाभाविक नभएको कोइरालाको टिप्पणी थियो। उनले भने– “महाधिवेशन निर्वाचन अघि नै हुन्छ, ढुक्क हुनुस्।”

सभापतिमा गगन थापासहित ४–५ जना दावेदार हुनु स्वाभाविक भएको बताउँदै कोइरालाले १४औँ महाधिवेशनमा पनि त्यत्तिकै प्रतिस्पर्धा रहेको स्मरण गराए। देउवा पक्षको मतबारे सोधिएको प्रश्नमा उनले आफू सबै धाराको मत पाउन सक्षम रहेको दाबी गरे।

दुईवटा क्यालेन्डर लिएर महाधिवेशन मिति निर्धारणमा अनावश्यक रस्साकस्सी भएको भन्दै उनले यो ‘गलत परम्परा’ को अभ्यास भएको टिप्पणी गरे। क्रियाशीलता समस्याको समाधान गर्न महामन्त्रीहरूले जिम्मेवारीअनुसार काम गर्नुपर्ने उनको जोड थियो।

कतिपय विश्लेषकहरूले विवाद टरेको नभई सरेको टिप्पणी गरेकाबारे कोइरालाले भने– “समस्या समाधान गर्दै महाधिवेशन त हुने नै हो, केही दिन सर्न सक्छ तर निर्वाचन अघि सम्पन्न हुन्छ।”

 

प्रतिक्रिया