
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर कालोपत्रे सुरु
काठमाडौं- नागढुंगा–नौबिसे–मलेखु सडकखण्डअन्तर्गत नागढुंगादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रमा आजदेखि सडक कालोपत्रे कार्य सुरु गरिएको छ। मंसिर २४ गतेदेखि पुस १ गतेसम्म हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजे सम्म सो सडक खण्ड पूर्ण रूपमा बन्द गरेर स्तरोन्नतिको काम अघि बढाइएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सम्बन्धित सबै निकायसँग समन्वय गरी छिटो, व्यवस्थित र प्रभावकारी रूपमा काम सम्पन्न गर्ने उद्देश्यले सडक बन्द गर्ने निर्णय गरेको हो। सोही अनुसार काठमाडौं र धादिङ जिल्लाका प्रशासन कार्यालयहरूले संयुक्त सूचना जारी गर्दै निर्धारित समयावधिमा सडक बन्द रहने जानकारी दिएका छन्।
त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुंगा–नौबिसे सडक विस्तार परियोजना अन्तिम चरणमा पुगेको र यससँगै सडक स्तरोन्नति तथा कालोपत्रे कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको सडक विभागले बताएको छ। उक्त खण्ड साँघुरो भएकाले एकैपटक धेरै उपकरण, मेसिनरी र ढुवानी साधन परिचालन गर्न सहज बनाउन सडक बन्द गरिएको हो।
यस्तै, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडा पार्ने काम एकसाथ अघि बढाइएको परियोजनाले जनाएको छ।
यातायात अवरुद्ध भएको समयमा काठमाडौंबाट नौबिसे जाने सवारी साधनलाई नागढुंगा चेकपोस्टमै रोकिएको छ। तर, अत्यावश्यक सेवाका वाहन जस्तै एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल र शववाहनलाई ट्राफिक प्रहरीले विशेष व्यवस्था मिलाएर आवत–जावत गराइरहेको छ।



कागजपत्र |
