गोरखामा ३८ वर्ष सेवा गरेका शिक्षकलाई हेलिकप्टर चढाएर बिदाइ


गोरखा-  गोरखा–धार्चे २ रुञ्चेतका बासिन्दाले ३८ वर्ष शिक्षा सेवा गरेका आफ्नै प्रिय शिक्षकलाई हेलिकप्टर चढाएर बिदाइ गरेका छन्। २०४५ साल फागुन १९ गतेदेखि गण्डकी माध्यमिक विद्यालय, रुञ्चेतमा अध्यापन सुरु गरेका शिक्षक इन्द्र उपरकोटीलाई मंगलबार स्थानीय बासिन्दाले औपचारिक समारोहसहित सम्मानपूर्वक बिदाइ गरेका हुन्।

‘उहाँ हाम्रो विद्यालयका संस्थापक प्रधानाध्यापक मात्र होइन, यही स्कुलबाटै जागिरको यात्रा सुरु गर्नुभएको हो,’ वडाअध्यक्ष सरोज गुरुङ भन्छन्, ‘आज उहाँ ५८ वर्ष पुग्नुभयो, सेवा ३८ वर्ष पूरा भयो। त्यसैले हामी सबै पूर्वविद्यार्थीले एक–दुई हजार रूपैयाँ जुटाएर गाउँकै शैलीमा भव्य बिदाइ गर्‍यौँ।’

गाउँलेले फूलमालासहित सम्मान गरेपछि शिक्षक इन्द्र उपरकोटी र उनकी धर्मपत्नी माया उपरकोटीलाई हेलिकप्टर चढाइयो। जन्मघर नारेश्वर भए पनि हाल उनी भरतपुर महानगर–१० मा बस्ने भएकाले गाउँबाट काठमाडौंसम्म हेलिकप्टर र काठमाडौंबाट भरतपुरसम्म जहाज चढाएर पठाइएको वडाअध्यक्ष गुरुङले बताए।

खर्च स्थानीय बासिन्दा र पूर्वविद्यार्थीले नै उठाएका हुन्। विभिन्न पेशा वा रोजगारीमा रहेको करिब एक सयभन्दा बढी पूर्वविद्यार्थीले आर्थिक सहयोग जुटाएका थिए।

उपरकोटी प्राथमिक तहका शिक्षक भए पनि विद्यालय उकास्न उनी अग्रणी रहे। उनीसकै नेतृत्वमा विद्यालय क्रमशः निम्न माध्यमिक र दुई वर्षअघि मात्र माध्यमिक तहमा स्तरोन्नत भएको हो। एसईई दिएको पहिलो ब्याचले नै गाउँपालिकामा सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको वडाअध्यक्ष गुरुङले स्मरण गरे।

‘उहाँको नेतृत्व बलियो भएकै कारण पहिलो एसईईमा हाम्रो विद्यालय गाउँपालिकाकै उत्कृष्ट बन्न सफल भयो,’ गुरुङ भन्छन्, ‘स्वास्थ्य समस्या भएकाले उहाँ अनिवार्य अवकाशभन्दा दुई वर्षअघि नै बिदा लिनुभएको हो। हामीले सकेसम्म सम्मान गरेर बिदाइ गर्‍यौँ।’

आफूले कल्पनासम्म नगरेको सम्मान पाएको शिक्षकमाथि भावनाले भरिएको थियो। ‘आज मैले त्यस्तो सम्मान पाएँ, जुन कहिँ सुनेको थिइनँ, देखेको पनि थिइनँ,’ उपरकोटीले भने, ‘मैले त कर्तव्य निभाएको मात्र हो। तर गाउँलेहरू मसँग यति खुसी र सन्तुष्ट रहेछन् भन्ने आज थाहा पाएँ। म त केही भन्नै सकिरहेको छैन।’

उनको बिदाइमा धार्चे गाउँपालिकाका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापकदेखि वरपरका दर्जनभन्दा बढी आधारभूत विद्यालयका शिक्षक सहभागी थिए। विद्यार्थी र गाउँलेहरू रोइरहेको अवस्थामा शिक्षकलाई हेलिकप्टरमा उडाइ बिदाइ गरिएको शिक्षक रामपति गुरुङले बताए।

रुञ्चेत गुरुङ र विश्वकर्मा समुदायको बसोबास भएको दुर्गम बस्ती हो। शिक्षामा पछि परिरहेको यस गाउँमा इन्द्र उपरकोटीले गण्डकी माविका संस्थापक प्रधानाध्यापकका रूपमा जीवनभरको योगदान दिएका थिए।

प्रतिक्रिया