दाङ खानेपानीका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं-  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएर भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा थापासहित ६ जना कर्मचारी तथा जयकाली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ।

मुद्दामा दाङ डिभिजनका तत्कालीन कार्यालय प्रमुख थापा, तत्कालीन इन्जिनियर बसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौँ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सब–इन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, जयकाली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र सो कम्पनीका प्रबन्ध निर्देशक शेखर शर्मामाथि पनि भ्रष्टाचार मुकदमामा प्रतिवादी बनाईएको छ।

डिप ट्युबवेल निर्माण कार्यमा थापा लगायतले मिलेमतो गरी कार्यालयलाई ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ हानिनोक्सानी पुर्‍याएको र भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कसूर गरेको आरोप पत्रमा उल्लेख छ।

उनीहरूमाथि जनही सोही बराबरको बिगो रकम असुल गर्न तथा कानुनअनुसार सजाय माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया