
साढे ५७ लाख रुपैयाँसहित कुलेश्वरबाट हुन्डी कारोबारी पक्राउ
काठमाडौं– काठमाडौंको कुलेश्वर क्षेत्रबाट ठूलो परिमाणको नगदसहित अवैध हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुन्डीमार्फत अवैध वित्तीय कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा विशेष टोली परिचालन गरी ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँसहित ३४ वर्षीय सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्ने श्रेष्ठ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ का स्थायी बासिन्दा हुन् र हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा बस्दै आएका थिए।
उनीसँग बरामद गरिएको ठूलो रकम हुन्डी कारोबारकै प्रयोजनका लागि भण्डारण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
श्रेष्ठविरुद्ध हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
