
‘धेरैले सोध्छन्– सुमना कहाँ छ ? म भन्छु– सुमना एकतामा छ’
काठमाडौं- ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा गठन हुँदै गरेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक कार्यक्रममा सहभागी पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले नयाँ राजनीतिक शक्तिहरूबीच एकताको आवश्यकता औँल्याएकी छन्।
बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै श्रेष्ठले पुराना राजनीतिक संस्कार र दलहरूलाई विस्थापित गर्न वैकल्पिक शक्तिहरू अलग–अलग बाटोमा नभई एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग रहेकी श्रेष्ठले आफ्नो राजनीतिक गन्तव्यबारे भइरहेको टीकाटिप्पणीको जवाफ दिँदै आफू एकताको पक्षमा रहेको स्पष्ट पारिन्।
उनले भनिन्, ‘धेरैले सोध्छन्– सुमना कहाँ छ ? म भन्छु– सुमना एकतामा छ। पुराना राजनीतिक संस्कार, नातावाद र कृपावाद जस्ता विसंगतिलाई तोड्न हामी एक ठाउँमा उभिनै पर्छ। फरक–फरक बाटोमा हिँड्यौं भने पुराना पार्टीहरूलाई फेरि रेड कार्पेट ओछ्याएर ‘आउनुस् देश लुट्नुस्’ भनेर बोलाए जस्तो हुन्छ।’
श्रेष्ठले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर साझा एजेन्डामा सहकार्य गर्न सबैलाई आह्वान गरिन्। उनले भनिन्, “यो रेड कार्पेट र पुरानो राजनीतिक संस्कारलाई निषेध गर्न सबैजना एकै ठाउँमा आउनु अनिवार्य छ। विकल्प छैन।”



कागजपत्र |
