
विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री यादव राजीनामा दिने तयारीमा !
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि राजीनामा दिने तयारी गरेका छन्। उनले प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेपछि औपचारिक रूपमा पदबाट राजीनामा बुझाउने तयारी भएको स्रोतले जनाएको छ।
विश्वासको मत लिन आज बिहान साढे ८ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि मुख्यमन्त्री उपस्थित नभएकै कारण बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
प्रदेश सभाको अंकगणित हेर्दा मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून देखिन्छ। १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार टिकाइ राख्न ५४ मत आवश्यक पर्छ। तर सत्ताबाट रहेको एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन्, जसमा एकजना निलम्बित छन्। एमालेसँगै नेपाल संघीय समाजवादी र राप्रपाका एक–एक सिटको मात्र साथ छ।
यसैबीच, पार्टीको नीतिविपरीत सरकारमा सहभागी भएकी राप्रपाकी वन तथा वातावरणमन्त्री कञ्चन बिच्छाको सांसद पदसमेत धरापमा परेको छ। राप्रपाले आइतबार नै उनको पद खारेजीका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाइसकेको छ।
उता, सातदलीय गठबन्धन भने ७३ सांसदसहित स्थिर देखिन्छ। गठबन्धनमा नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्।



कागजपत्र |
