
बेलायतमा एक नेपालीलाई २५ वर्षको कैद, ७ बालिका र एक महिलामाथि यौन दुराचारको अभियोग
काठमाडाैं- बेलायतको क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा अन्य गम्भीर यौन दुराचारका अभियोगमा एक नेपाली नागरिकलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।
काठमाडौं पुर्ख्यौली घर भई हाल पिटरबरोमा बसोबास गर्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई सात बालिका र एक महिला गरी आठ जनामाथि यौन अपराध गरेको अभियोगमा दोषी ठहर गरिएको हो। ढकाललाई सबैभन्दा कम ८ वर्षीया बालिकासमेत बलात्कार गरेको आरोप लागेको थियो।
अदालतले ढकाललाई जम्मा २५ वटा यौन अपराधमा दोषी ठहर गर्दै २५ वर्षको कैद सजाय सुनाएको छ। काराबास अवधि पूरा भएपछि पनि थप ८ वर्ष ‘लाइसेन्स अवधि’ (निरन्तर कानुनी निगरानी) मा रहने गरी सजाय तोकिएको छ।
उनले गरेका अपराधहरूमा १३ वर्षमुनिका बालिकामाथि पाँच पटक बलात्कार र १३ वर्षभन्दा माथिका बालिकामाथि दुई पटक बलात्कारका घटनाहरू मुख्य छन्। अधिकांश अपराध पिटरबरोमा भएका थिए भने एक पीडितलाई लन्डनमा समेत दुराचार गरिएको बीबीसीले जनाएको छ।
यसअघि कुनै पनि आपराधिक गतिविधिमा संलग्न नरहेका ढकालले अदालतमा भने सबै आरोप अस्वीकार गरेका थिए। न्यायाधीश मार्क बिशपका अनुसार ढकाल विगत केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए।



कागजपत्र |
