
कांग्रेसमा नियमित महाधिवेशनको दबाबका लागि युवा–विद्यार्थीको वृहत भेला
काठमाडौं- नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग सशक्त रूपमा उठ्न थालेका बेला युवा र विद्यार्थीहरूले शुक्रबार राजधानीको तीनकुनेमा बृहत भेला आयोजना गरेका छन्।
उक्त भेलामा कांग्रेसका केन्द्रीय सदस्य, तरुणदल, विद्यार्थी संगठनका प्रतिनिधि र आम कार्यकर्ताको ठूलो सहभागिता रहेको थियो। वक्ताहरूले नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएकाले आउने फागुन २१ गते हुने निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे। केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि अब सबै शक्ति निर्वाचनमै केन्द्रित गर्नुपर्ने उनीहरूको जोड थियो।
यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मुद्दालाई लिएर पार्टीमा विवाद चर्काएको आरोप लागिरहेका बेला युवातर्फबाट आयोजित यो बृहत् भेलाले ‘पार्टीभित्र बखेडा होइन, एकता’ को संदेश दिएको सहभागीहरूले बताए। उनीहरूले कांग्रेसलाई कमजोर पार्ने किसिमका गतिविधि कसैले पनि नगर्न चेतावनी दिए।
यस्तै, सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणामाथि भदौ २४ गते भएको सांघातिक आक्रमणपछि केही नेताहरूले घटनाको निन्दा गर्नसमेत नसकेको भन्दै असन्तुष्टि पाेखिएकाे थियाे। विशेष महाधिवेशनको नाममा नेतृत्व कब्जा गर्ने खेल चलिरहेको आरोप लगाउँदै भेलामा ती प्रवृत्तिको खुलेर विरोध गरिएको थियो।



कागजपत्र |
