प्रधानमन्त्री बन्ने मरिहत्ते इच्छा छैन: प्रचण्ड


धादिङ-  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बन्ने खासै रुचि नरहेको भन्दै आफूले जनताको सेवकको रूपमा सधैँ काम गर्ने चाहना राखेको बताएका छन्। बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकामा नयाँ प्रशासकीय भवन उद्घाटन दौरान उनले देश सेवा गर्न प्रधानमन्त्रीको कुर्सी नै अनिवार्य नभएको स्पष्ट पारे।

समारोहमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले प्रचण्डको प्रशंसा गर्दै उनलाई ‘जनताको भगवान’ जस्तै प्रस्तुत गरेपछि प्रचण्डले आफू सामान्य किसान–मजदुरको छोरा मात्र रहेको बताएका थिए। “म भगवान होइन, जनताको सेवक हुँ,” प्रचण्डले भने, “देशले र जनताले मागे जिम्मेवारीबाट कहिल्यै पछि हट्दिन, तर प्रधानमन्त्री बन्ने मरिहत्ते इच्छा पनि छैन।”

कार्यक्रममा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताएपछि प्रचण्डले देशले आग्रह गरे जिम्मेवारी लिन तयार रहने प्रतिक्रिया दिए। उनले सुशीला कार्की नेतृत्वको सरकार सबै दलको सहमतिबाट बनेको दाबी गर्दै अहिले देश अराजकतामा पुगेकाले संविधानलाई सही ट्र्याकमा ल्याउन निर्वाचन आवश्यक रहेको उल्लेख गरे।

प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउन आफ्नो नेतृत्वमा धेरै प्रयास भएको स्मरण गर्दै प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायम रहने बताए। गणतन्त्र स्थापना पछि ऊर्जा, पूर्वाधार, स्वास्थ्य र जीवनस्तरमा भएको अभूतपूर्व प्रगतिको उनले प्रशंसा गर्दै ९० प्रतिशतभन्दा बढी घरमा विद्युत् पुगेको, सडक विस्तार व्यापक रूपमा बढेको र नागरिकको सरदर आयु ७१–७२ वर्ष पुगेको उल्लेख गरे।

प्रतिक्रिया