मिराज ढुंगानाकाे समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा


काठमाडौं-  जेन–जी आन्दोलनभित्रका अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामाको माग गर्दै पछिल्ला तीन दिनदेखि सरकारविरुद्ध निरन्तर सडक आन्दोलन सञ्चालन गरिरहेको छ। सोमबार सिंहदरबार प्रवेश प्रयासदेखि आज प्रधानमन्त्री निवास बालुवाटारसम्म आइपुग्दा जेन–जी समूह र प्रहरीबीच पटक–पटक धक्का–मुक्कासहित तनाब सिर्जना भएको छ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरिसकेको मिराज समूहले प्रधानमन्त्रीलाई आफ्ना ९ बुँदे माग बुझाउन गएको भए पनि सिंहदरबार प्रवेश नदिएको आरोप लगाउँदै दिउँसोै गेटमै ज्ञापन पत्र टाँसेर फर्किएको थियो। मंगलबार पनि उनीहरूले सिंहदरबार गेटमा होहल्ला गर्दै भेट–समय मागे पनि प्रहरीद्वारा साइडमा हटाइएका थिए।

यही विरोधको निरन्तरतामा बुधबार साे समूह बालुवाटारस्थित प्रधानमन्त्री निवासबाहिर प्रदर्शनमा उत्रियो। ‘प्रधानमन्त्री राजीनामा देऊ’, ‘जेन–जीका माग सुन’, ‘दोषीलाई कारबाही गर’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गर्दै गेटतर्फ अगाडि बढेपछि प्रहरीले निषेधित क्षेत्रबारे जानकारी दिंदै रोक्ने प्रयास गरेको थियो।

समूह अडानमा कायम रहेपछि प्रहरी र प्रदर्शनकारीबीच धक्का–मुक्कादेखि घम्साघम्सीसम्मकाे अवस्था देखियो। केहीबेरको तनाबपछि प्रहरीले हस्तक्षेप गर्दै मिराज समूहलाई बलपूर्वक सडकबाट हटाएको थियो।

प्रदर्शनस्थलबाट पत्रकारसँग कुरा गर्दै जेन–जी अगुवा मिराज ढुंगानाले भने, “सरकार जेन–जी आन्दोलनको मर्मविपरीत चुनावमा मात्र केन्द्रित छ। ९ बुँदे माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौँ।”

उनका अनुसार जेन–जी विद्रोहलाई अब राजनीतिक आन्दोलनको रूपमा रूपान्तरण गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने, र आन्दोलनका क्रममा भएको दमन–निरंकुशतामा संलग्नहरूलाई कारबाही गर्न आवश्यक छ।

 

प्रतिक्रिया