चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य


काठमाडौं –  नेपाल प्रिमियर लिगमा चितवन राइनोजले विराटनगर किङ्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७४ रन बनाएको हो ।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ६५ रन प्रहार गरे । जारी सिजनको उनको यो तेस्रो अर्धशतक हो । बोपाराले यसअघि लुम्बिनी लायन्स र कर्णाली याक्सविरूद्ध अर्धशतक बनाएका थिए ।

सेफ जैबले ३२ र देव खनालले २८ रन जोडे । ओपनर डेविड मलानले १७ रन बनाउँदा अर्का ओपनर दीपक बोहरा ५ रनमै आउट भएका थिए । कप्तान कुशल मल्लले २० रन जोडे ।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गेले दुई-दुई विकेट लिए । शुभम रन्जानेले एक विकेट लिए ।

प्रतिक्रिया