
‘ड्रीमगर्ल’को मोहमा डुबेका ‘हिम्यान’ : जब प्रेमकाे अगाडि दुनियाँको केही चलेन
काठमाडाैं- बलिउडका दिग्गज अभिनेता ‘हिम्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। केही हप्तादेखि अस्वस्थ रहेका उनी ब्रीच क्यान्डी अस्पतालमा उपचाररत थिए। केही समयअघि स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किएका थिए र घरमै उपचार भइरहेको थियो। परिवारले उनलाई चाँडै स्वस्थ हुने आशा व्यक्त गरेको भए पनि उनको अचानक निधनले सम्पूर्ण भारत शोकमा परेको छ।
धर्मेन्द्र सामाजिक सञ्जालमा निकै सक्रिय रहेका अभिनेता थिए। उनको जीवनसँग जोडिएका धेरै प्रसंगहरू प्रशंसकका लागि प्रेरणा बनेका छन्। विशेषगरी उनी र अभिनेत्री हेमा मालिनीबीचको प्रेमकथा बलिउडकै सबैभन्दा चर्चित कथामध्ये एक हो।
‘हीम्यान’ र ‘ड्रीमगर्ल’ को प्रेमकथा
धर्मेन्द्र पहिले नै विवाहित थिए र चार सन्तानका बाबु पनि थिए। तर, जब उनी २२ वर्षीया हेमा मालिनीलाई भेटे, पहिलो नजरमै उनी हेमा प्रति आकर्षित भए। त्यतिबेला धर्मेन्द्र ३५ वर्षका थिए।
उनको पहिलो भेट एक फिल्म प्रिमियरमा भएको थियो। ‘तू हसीन मैं जवाँ’ को छायांकनका क्रममा उनीहरू एकअर्कासँग नजिकिए। पछि ‘प्रतिज्ञा’ को सुटिङका बीचमा हेमा पनि धर्मेन्द्रप्रति गहिरो रूपमा आकर्षित भइन्।
तर समस्याहरू कम थिएनन्। हेमा मालिनीका पिता उनीहरूको विवाहका विपक्षमा थिए, किनकि धर्मेन्द्र पहिले नै विवाहित थिए। यही कारणले हेमा मालिनीको विवाह अभिनेता जीतेन्द्रसँग तय पनि गरिएको थियो। हेमा सहमत पनि भएकी थिइन्, तर अन्तिम क्षणमा उनले त्यो निर्णय तोडिदिइन्।
सन् १९८0 मा धर्मेन्द्र र हेमा मालिनिले आफ्नो नाम परिवर्तन गरी ‘दिलावर खान’ र ‘आयशा बी’ को नाममा विवाह गरे। यी दुईबीचको यो विवाह चर्चाको केन्द्र बन्यो। हेमासँगका दुई छोरी ईशा र अहाना जन्मिए। तर विवाहपछि पनि धर्मेन्द्र आफ्नी पहिलो पत्नी प्रकाश कौर र चार सन्तानसहित अलग घरमा बस्दै आए। हेमा पनि आफ्नी छोरीहरूसहित छुट्टै घरमा बसिन्।
यद्यपि प्रकाश कौर र हेमा धर्मेन्द्रलाई सधैँ एक जिम्मेवार पिता भनेर नै वर्णन गरेका छन्।
दुनियालाई सामना गर्ने हेमाको हिम्मत
धर्मेन्द्रप्रतिको प्रेमका कारण हेमा मालिनिले ‘दोस्री पत्नी’ को पहिचान पनि खुला दिलले स्विकारिन्। आफ्नी आत्मकथामा उनले लेखेकी छन् कि समाजले उनीहरूका सम्बन्धबारे असंख्य टीका–टिप्पणी गरे, आरोप लगाए, गाली गर्यो। तर हेमा भन्थिन्—“धर्मेन्द्रले मलाई खुसी राख्छन्, र म बस् खुसी हुन चाहन्छु।”
हेमाले आफ्नो प्रेम कहिल्यै जस्टिफाइ गरिनन्, न त दुनियाले आफूलाई सही ठानून भन्ने अपेक्षा नै गरिनन्। उनी प्रेममा थिइन्। धर्मेन्द्रको अन्तिम साससम्म त्यो प्रेम कायम नै रह्यो।



कागजपत्र |
