
भियतनाममा भीषण वर्षा, बाढी र पहिरोबाट ९० जनाकाे मृत्यु
काठमाडौं – भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ ।
अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन् । यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइन्छ ।
तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ ।
डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सी र उनकी श्रीमती दुई रातसम्म घरको छतमा फसे । ‘हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन। चिहानहरू समेत ढाकिए,’ उनीहरुले एएफपीसँग भनेका छन् । छतमा चढ्न सफल भए पनि आफूहरू सुरक्षित महसुस नगरेको उनीहरुले बताएका छन् ।
नोभेम्बर १६ पछि दर्ता भएका मृतकमध्ये ६० भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन् । प्रान्तमा दशौँ हजार घर डुबानमा परेको वातावरण मन्त्रालयले जनाएको छ ।
सामान्यतया बाढीबाट जोगिन स्टलहरूलाई करिब पाँच सेन्टिमिटर उचाइमा राखिन्थ्यो, तर यसपटक पानी एक मिटरभन्दा माथि पुग्दा त्यो उपाय पनि निकम्मा भएको छ ।
गत हप्तामा डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टरभन्दा बढी चामल र अन्य बाली नष्ट भएको थियो भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरेका वा बाढीमा बगेको अधिकारीहरुले बताएका छन् ।



कागजपत्र |
