
डा. शेखरसँग संस्थापन पक्षीय २४ सांसदको भेट, नियमित महाधिवेशनका लागि दबाब बढाउन आग्रह
काठमाडौं – कांग्रेसका संस्थापन पक्षीय २४ केन्द्रीय सदस्यहरूले पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् । उनीहरूले डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान भेट गरेर आफूहरूले उठाउँदै आएका मागबारे जानकारी गराउँदै समर्थन गरिदिन आग्रह गरेका हुन् ।
संस्थापन पक्षीय यी केन्द्रीय सदस्यहरूले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती माघमा पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया यही मंसिर मसान्तमा सुरु गरेर सकभर पुस मसान्तभित्र सक्नुपर्ने बताउँदै आएका छन् ।
डा. कोइराला, डा. मिनेन्द्र रिजाल, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार केन्द्रीय सदस्यहरू सञ्जय गौतम, डा. गोविन्दराज पोखरेलसहितका नेताहरूसँग उनीहरूले नियमित महाधिवेशनको प्रक्रिया मंसिरमा नै सुरु गरेर सकभर पुस मसान्तसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने आफूहरूको मागमा समर्थन जनाउन आग्रह गरेको भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार उनीहरूले नियमित महाधिवेशन समयमै सम्पन्न गर्न पहलकदमी दिन डा. कोइरालालाई आग्रह गरेका थिए ।
२४ केन्द्रीय सदस्यहरूले आफ्ना माग पूरा गराउन यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारीलाई भेटिसकेका छन् ।



कागजपत्र |
