काठमाडौंमा ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु


काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । शुक्रबार (मंसिर ५) राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी दिए । “हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौं । सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेर सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ,” उनले भने ।

अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने पौडेलले जानकारी गराए । “वर्गीकरण लागि आउन नसक्नेलाई अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर सहजीकरण गरेको छ । धेरै जना सम्पर्कमा आइसकेकाले सम्भवतः एक हप्ताभित्र परिचयपत्र वितरणको काम सक्छौँ,” उनले भने ।

वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’हरू ट्रमा सेन्टरमा पुगेका थिए ।

सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य घाइते गरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ ।

घाइतेमध्ये चोटपटकका आधारमा अति गम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ ।

प्रतिक्रिया