
सैनिक मुख्यालयमा नेपाली र अमेरिकी सेनाबीच स्थल सेना वार्ता सुरू
काठमाडौं- नेपाली सेना र अमेरिकी सेनाबीचको ‘स्थल सेना वार्ता’ को छैटौँ संस्करण बुधबार काठमाडौंमा सुरु भएको छ। सैनिक मुख्यालय जंगी अड्डा (भद्रकाली) मा सुरु भएको तीनदिने वार्तामा दुई देशबीच सैन्य सहकार्य, विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यका विषयमा विस्तृत छलफल भइरहेको नेपाली सेनाले जनाएको छ।
सन् २०१८ देखि वार्षिक रूपमा हुँदै आएको यो संवादले नेपाल–अमेरिका सैनिक सम्बन्धलाई संस्थागत बनाउँदै आएको छ। कार्यक्रमका क्रममा अमेरिकी सैन्य प्रतिनिधिमण्डलले प्रधानसेनापति अशोक राज सिग्देलसँग समेत भेटवार्ता गर्नेछ।
नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धिका लागि भारत, चीन, बेलायत, पाकिस्तानलगायत मित्रराष्ट्रका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यासमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। यस्ता कार्यक्रमले मित्रराष्ट्रबीचको सम्बन्ध, सहयोग र अनुभव आदान–प्रदानलाई अझ सुदृढ बनाउने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।



कागजपत्र |
