
सर्लाहीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
मलङ्गवा- सर्लाहीका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर चोरी गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले ‘अप्रेसन चार्ली’ नामक विशेष अभियान सञ्चालन गरी ४ भारतीय नागरिकसहितको गिरोहलाई नियन्त्रणमा लिएको हो। प्रहरीले बुधबार मलङ्गवामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काका अनुसार जिल्लाको बागमती, रानिगञ्ज, चन्द्रनगरलगायतका क्षेत्रबाट हालसम्म १७ वटा ट्रान्सफर्मर चोरी भएको उजुरी परेको थियो।
सोही आधारमा महोत्तरी, बारा र पर्सा लगायतका स्थानमा गरिएको विशेष अप्रेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा इलामको माइजोगमाइ-४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका-१ का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास-३ का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगञ्ज-१६ का ३३ वर्षीय दिलिप कुमार ओझा र बाराको जितपुर सिमरा-६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव रहेका छन्।
त्यस्तै, भारतीय नागरिकहरू ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोज कुमार सहनी, ५५ वर्षीय मो. रयाजुल र ३५ वर्षीय संजित पदार्थ पनि पक्राउ परेका छन्।
प्रहरीले अभियुक्तहरूको साथबाट १०३.८ केजी तामाको तार, चोरीका लागि प्रयोग गरिएका ५१ थान औजार र २ वटा ई-रिक्सा बरामद गरेको छ।
न्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँकासम्बन्धी ४ वटा मुद्दा र महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान, डाँका र अभद्र व्यवहारसम्बन्धी ४ वटा मुद्दा अदालतमा दर्ता गरेकाे प्रहरीले जनाएकाे छ।



कागजपत्र |
