एनपीएल २०२५ः काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै


काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको काठमाडौं उच्च मनोबलका साथ दोस्रो खेलमा सहभागी हुनेछ । साविक उपविजेता सुदूरपश्चिमसँगको खेल काठमाण्डुका लागि महत्त्वपूर्ण बन्नेछ । सुदूरपश्चिमसमेत विजयी सुरुवात गर्दै अंक जोड्न चाहन्छ ।

काठमाण्डु र सुदूरपश्चिम खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाण्डुका कप्तान करण केसी हुन् भने सुदूरपश्चिमको नेतृत्व अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।

विजयी सुरुवात गरेको काठमाण्डुको आत्मबल दोस्रो खेलमा सबैभन्दा ठुलो हतियार हो । साविक विजेता जनकपुरलाई हराएर दुई अंक जोडेको काठमाण्डु आज उत्साहका साथ मैदानमा हुनेछ । यो टिमले नेपाली राष्ट्रिय टिमका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाइसँग प्रशिक्षणको अवसर पाएको छ।

नामिबियाका कप्तान जेरार्ड एरासमससँगै केही महत्त्वपूर्ण विदेशी खेलाडी काठमाण्डुले ल्याएको छ। इंग्ल्याण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेल काठमाण्डुका विदेशी खम्बा हुन्। पहिलो खेलमा मिलिन्द कुमारको प्रदर्शनले काठमाण्डुमा उत्साह भरेको छ ।

काठमाण्डुको कप्तानी करणले गर्दा उनलाई मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठले साथ दिँदैछन् ।

काठमाण्डुको बलिङ लाइनमा कप्तान केसीसँगै शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापाको जादु देखिने छ। कान्तिपुर मिडिया ग्रुपको लगानी रहेको टिम भएकाले यसमा धेरैको चासो देखिन्छ।

सुदूरपश्चिम अघिल्लो अर्थात् एनपीएल पहिलो सिजनको उपविजेता टोली हो। सुदूरपश्चिम पहिलो सिजन फाइनलमा जनकपुरसँग पराजित भएको थियो । अघिल्लो सिजनमा भित्र्याएका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंहलाई सुदूरपश्चिमले यो सिजनसमेत स्वागत गरेको छ । अस्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीको रुपमा ल्याएको छ ।

सुदूरपश्चिममा कप्तान दीपेन्द्रसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा समेटिएका छन् । अरु जतिसुकै ठुलो लाइनअप देखिए पनि सुदूरपश्चिम कप्तान ऐरीमा मात्र भर पर्ने देखिन्छ ।

प्रतिक्रिया