प्रधानमन्त्री कार्कीविरुद्ध अदालत अवहेलनाको मुद्दा: मंसिर ७ मा पेसी


काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अदालतको आदेश अवहेलनाको मुद्दामा मंसिर ७ गते पेसी तोकिएको छ। गत कात्तिक १६ गते सर्वोच्च अदालतले सरकारले विभिन्न देशका राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

तर कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई पुनः फिर्ता बोलाएको भन्दै अदालतको आदेश अवहेलन भएको दाबी गर्दै अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका थिए। सर्वोच्च अदालतका अनुसार सोही रिटमाथिको प्रारम्भिक सुनुवाइ मंसिर ७ गते हुनेछ।

सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

अब अदालतले सो निर्णय र आदेश अवहेलनाको दाबीबारे मंसिर ७ गते प्रारम्भिक सुनुवाइमार्फत कानुनी प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया