बीपी प्रतिष्ठानका प्रा‍. डा‍. शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा समावेश


काठमाडौं-  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा‍.डा‍. सञ्जीवकुमार शर्मा विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा परेका छन्।

अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा जारी गर्ने वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा यस वर्ष नेपालका ३१ वैज्ञानिक चयन भएका छन्, जसमा प्रा‍.डा‍. शर्मा पनि समावेश छन्।

डब्लूएचओको सर्पदंशसम्बन्धी कार्यक्रममार्फत नेपालका तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएका प्रा‍.डा‍. शर्मा करिब २५ वर्षदेखि स्वास्थ्य अनुसन्धानमा सक्रिय छन्। उनी उपचार पद्धति, चिकित्सकीय ज्ञान र स्वास्थ्य सेवाको प्रभावकारिता वृद्धि गर्ने क्षेत्रमा निरन्तर काम गरिरहेका छन्।

स्कोपस डाटाबेसको विस्तृत सूचकाङ्कका आधारमा तयार हुने उक्त सूची विश्वभरका प्रभावशाली वैज्ञानिकहरूको वार्षिक मूल्यांकनका रूपमा मानिन्छ। अनुसन्धान उत्पादन, उद्धरण दर तथा बिब्लियोमेट्रिक प्रभावलाई आधार मानेर स्ट्यानफोर्ड–एल्सेभियर टोलीले यो र्‍याकिङ सार्वजनिक गर्दै आएको छ।

प्रतिक्रिया