एनपीएल भोलिदेखि: उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दै


काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार अपराह्न ४ बजे हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ।

क्यानका अनुसार दोस्रो संस्करणका सबै ३२ खेल कीर्तिपुरमै आयोजना हुनेछ। तीमध्ये ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा खेलाइनेछन्। लिग चरण, तीन प्लेअफ र फाइनलसहित प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म चल्नेछ।

यो सिजनमा आठ फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

डे–नाइट खेलका लागि त्रिवि मैदानमा जडान गरिएका ६ वटा फ्लडलाइटको परीक्षण शुक्रबार सम्पन्न भएको क्यानले जनाएको छ। आवश्यक सबै तयारी पूरा भइसकेको क्यानले जनाएको छ।

यसपटक क्यानले स्पोन्सर, टिकट बिक्री र अन्य स्रोतमार्फत ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको छ। टिकट बिक्रीबाट मात्र ८ देखि १२ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ।

उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले दर्शकहरूलाई घरमै बसेर टेलिभिजन वा अनलाइनमार्फत खेल हेर्न आग्रह गरिएको छ। क्यानका सचिव पारस खड्काले भिडियो सन्देशमार्फत भौतिक उपस्थिति सम्भव नभएकाले घरमै बस्न अनुरोध गरेका छन्।

 

प्रतिक्रिया