काठमाडौंकाे खुलामञ्च अब सबैका खुला गर्ने तयारी


काठमाडौं – काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई सबैका लागि स्थायी रूपमा खुला गर्ने तयारी गरेको छ।

महानगरपालिकाले खुलामञ्चको पुनर्निर्माण र सजावटको काम पूरा गरिसकेको छ। १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ। उबडखाबड रहेको चउर अब समतल बनाइ नेपाली दुबो रोपिएपछि दृश्यात्मक रूपमा लोभलाग्दो भएको छ।

सार्वजनिक निर्माण विभागले खेलकुद पूर्वाधारको मर्मत, सुधार र स्तरोन्नतिका लागि कार्यान्वयन गरेको कार्यक्रम अन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम सम्पन्न गरिएको हो। महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधार सुधारका लागि ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ। कार्यक्रमबाट खुलामञ्चको चउरमा दुबो रोप्न झन्डै ९० लाख रुपैयाँ खर्च भएको बताइएको छ।

चउरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ। यस मार्गमा २१ वटा बिजुलीका पोल राखिएका छन्, जसका बत्तीहरू राति स्वतः बल्छन् र दिनमा निभ्छन्। खुलामञ्च हाल २३ हजार ४ सय १५ वर्गमिटर क्षेत्रमा फैलिएको छ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार, पूर्वाधार निर्माण र सजावटका सबै काम सकिएपछि खुलामञ्च सबैका लागि खुला गरिने योजना रहेको छ।

प्रतिक्रिया