मधेश सरकारकाे मुख्यालय नजिक ७ दलको धर्ना जारी


जनकपुर – एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधान मिच्दै मुख्यमन्त्री नियुक्ति गरेको भन्दै  सात दलका नेता–कार्यकर्ता शुक्रबार पनि धर्नामा बसेका छन्।

धर्ना मधेश प्रदेश सरकारको मुख्यालय, मधेश भवन अगाडिका सडकमा सञ्चालन भइरहेको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको होटलमा शपथग्रहण गराएकामा सात दल असन्तुष्ट छन्। उनीहरूले लगातार सडकमा धर्ना बसेर विरोध प्रकट गर्दै आएका छन्।

साथै, पदमुक्त गरिएका पाँच सांसदको मुद्दामा पनि उनीहरूले आपत्ति जनाएका छन्। पदअनुकूल आचारण नगरेको भन्दै सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रस्ताव दर्ता भएपछि लगातार १० पटक संसद बैठकमा अनुपस्थित रहेका ती पाँच सांसदलाई पदमुक्त गरिएको थियो।

शुक्रबार ती पदमुक्त सांसदहरू प्रदेशसभा सचिवालय, जनकपुर पुगेका थिए र आफ्नो उपस्थितिको हाजिरी रेकर्ड माग गरेका छन्। सात दलले सांसदमाथि गरिएको कारबाही र मुख्यमन्त्री नियुक्तिलाई संविधान विपरीत ठहराउँदै विरोध जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया