
रास्वपा छाड्दै सन्तोष परियारले गरे नयाँ राजनीतिक अभियानको घोषणा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी छाडेका छन्। उनले आफ्नो राजीनामा पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्।
राजीनामामार्फत परियारले अब ‘स्वतन्त्र र जनमुखी नयाँ राजनीतिक अभियान’ सुरु गर्ने घोषणा गरेका छन्। उनले आफ्नो निर्णयको कारण खुलाउँदै बदलिँदो राजनीतिक परिस्थिति र नयाँ चेतनाले नेपाली राजनीतिक आन्दोलनलाई राष्ट्रहित र जनजीवनसँग जोड्ने नयाँ प्रकारको अभियानमा सक्रिय हुन प्रेरित गरेको बताएका छन्।
उनले जेनजी आन्दोलनलाई नेपालको परम्परागत राजनीतिक जडतालाई चुनौती दिने ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै भनेका छन्, “नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाको पुनःपरिभाषा र संगठनहरूको पुनर्गठन हाम्रो पुस्ताको ऐतिहासिक जिम्मेवारी बनेको छ।”
परियारले विगतमा रास्वपामा रहेका बेला पार्टी र देशको हितमा इमानदार प्रयास गरेको उल्लेख गर्दै, आफ्नो विचारलाई संस्थागत रूपमा अघि बढाउन नसकेको कमजोरी स्वीकार गरेका छन्। उनले नेपाली समाजको विशिष्ट बनावटअनुसार स्पष्ट राजनीतिक विचार निर्माणमा केही कमी भएकोमा दुःख व्यक्त गरेका छन्।




कागजपत्र |
