
नक्कली प्रेस पास बोकेर सिआईबी भन्दै होटलबाट पैसा ट्रान्सफर गर्न लगाउने पक्राउ
काठमाडौं – आफूहरूलाई सीआईबी बताउँदै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका– ९ लालगढ घर भई काठमाडौं, गोठाटार बस्ने ४१ वर्षीय रबिन कोइराला र धनकुटा, महालक्ष्मी-७ घर भइ कीर्तिपुर बस्ने ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।
कात्तिक १६ गते कोटेश्वरमा तीन/चार जनाको समूहमा आएका व्यक्तिहरूले खाजा खाएर बसिरहेका २ जनाको साथबाट आफूहरूलाई सीआईबी प्रहरी बताउँदै ५०-५० हजार गरी १ लाख रूपैयाँ इसेवामा ट्रान्सफर गर्न लगाउनुको साथै ६ हजार रूपैयाँसमेत लिएर फरार भएको काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
उनीहरुको साथबाट विभिन्न व्यक्तिहरूको पासपोर्ट ११ थान, विभिन्न संस्थाहरूको आईडी १३ थान, विभिन्न कार्यालयहरूको छाप ४ थान, एटीएम कार्ड ३ थान,नगद रसिदको ठेली ११ थान, विभिन्न व्यक्तिका निवेदनहरू र मिलापत्रको कागजातहरू बरामद गरेको छ । उनीहरूले प्रेसको परिचयपत्र पनि बोकेको पाइएको छ ।
बानेश्वर प्रहरी टोलीले पक्राउ परेका २ जनालाई बिहीबार ठगी तथा अपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइएको छ ।



कागजपत्र |
