रवि र छविको मुद्दामा मिसिल झिकाउन उच्च अदालतको आदेश


भैरहवा-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउने आदेश दिएको छ।

न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सो आदेश दिएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्था लिमिटेडमा भएको ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा लामिछानेसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको छ।

चार भागमा बाँडिएको सो बिगोमध्ये लामिछानेको नाममा परेका २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको रकम बैंक जमानतका रूपमा दाखिला गरिए पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

जोशीले पनि आफूको हिस्साको बिगो रकमबापत जमानत पेस गरे पनि दुवैको हकमा कति-कति बिगो कायम हुने भन्ने स्पष्ट नहुँदासम्म रिहा गर्न नमिल्ने आदेश दिइएको अदालत स्रोतले जनाएको छ।

रिहा हुन पाउनका लागि दुवैले उच्च अदालतमा पुनरावेदन दिएका छन्। हाल रवि लामिछाने नख्खु कारागारमा पूर्पक्षका लागि थुनामा छन् भने छविलाल जोशी भैरहवा कारागारमा रहेका छन्।

प्रतिक्रिया