माओवादी संसदीय दलका नेताको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


विराटनगर- नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो १२:१५ बजे को १ झ ६५० नम्बरको सरकारी गाडीले ग्रामगान गाउँपालिका–५ मा स्कोरपिओ मोटरसाइकल (को ९ प ७९ नम्बर) लाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार तीव्र गतिमा रहेको गाडीले नियन्त्रण गुमाएर दुर्घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ठक्करबाट गम्भीर घाइते भएका ग्रामगान–५ का ३५ वर्षीय प्रवेश चौधरीलाई स्थानीयले उद्धार गरेर विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि लगिएको थियो। तर ३:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

दुर्घटनाको बेला आङ्बो गाडीमा सवार थिएनन्। प्रहरीले मोटरसाइकल र गाडी चालक, आङ्बोका स्वकीय सचिव ४० वर्षीय गम्भीरमान सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

माओवादीका नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री समेत रहिसकेका छन्।

प्रतिक्रिया