बिहान जेलबाट छुटे, साँझ गएर श्रीमतीको हत्या गरे


पर्वत – जिल्लाको मोदी गाउँपालिका–६ दराकमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

५१ वर्षीय जितबहादुर बिकले सोमबार राति करिब १ बजेतिर श्रीमती ५२ वर्षीया सीता बिकको कुटपिट गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार श्रीमतीलाई कुटपिट गरी उनले घरकै कोठामा राखेका थिए।

घटनालगत्तै बुहारी शोभा बिकले ​जितबहादुरले सासूलाई आक्रमण गरी गम्भीर अवस्थामा सिरक ओढाइ राखेको भन्ने सूचना प्रहरीलाई दिएकी थिइन्। लगत्तै प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी हवलदार सोमबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलीले सीता टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा भेटिएकी थिइन्। लगत्तै प्रहरीले सीतालाई प्रदेश अस्पताल पर्वतमा लगेको थियो। उपचारको क्रममा मंगलबार बिहान साढे ५ बजे उनको निधन भएको हो।

घटनापछि जितबहादुरलाई छिमेकीहरूले घरमा नै कोठामा थुनेर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार जित बहादुर सोमबार मात्रै जिल्ला कारागार पर्वतबाट छुटेका थिए। उनी जबरजस्ती करणी मुद्दामा कारागारमा राखिएका थिए। घरमा श्रीमती सहित एकजना बुहारी र दुई महिनाकी नातिनी गरी चारजना बसेका थिए। तीन छोरा रोजगारीका लागि विदेशमा रहेका प्रहरीले बताएको छ।

घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक सुदीप भण्डारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

 

प्रतिक्रिया