प्रतिनिधिसभा पुनर्स्थापनामा कांग्रेस सांसदहरूको हस्ताक्षर अभियान सुरु


काठमाडौं– प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्।

यसअघि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक तथा अलोकतान्त्रिक ठहर गरेको थियो। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जाने प्रयोजनका लागि विघटित संसद्मा पार्टीबाट सांसद बनेकाहरूको हस्ताक्षर सङ्कलन कार्य भइरहेको कांग्रेस नेता एवम् विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार, कांग्रेसले संसद् पुनर्स्थापना गर्ने कि चुनावमा जाने भन्नेबारे कुनै औपचारिक निर्णय गरिसकेको छैन। तर, विघटन असंवैधानिक ठहरिएको भन्दै त्यस विरुद्ध न्यायालयको ढोका ढकढक्याउन सांसदहरूले अभियान थालेका हुन्।

विघटित प्रतिनिधिसभाका सांसदहरूले तयार पारेको हस्ताक्षर सूची पार्टीमा बुझाइने छ।  यसअघि एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित अहिलेसम्म १६ वटा रिट निवेदन दायर भइसकेका छन्। प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी भइसकेको छ।

 

प्रतिक्रिया