गृहमन्त्रीलाई सुदन गुरुङको कडा चेतावनी- ‘दुई दिनपछि भविष्य निर्धारण हुन्छ’


काठमाडौं –  जेनजी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति कडा असन्तुष्टि प्रकट गरेका छन्। उनले गृहमन्त्रीले जनताको भरोसा पूरा गर्न नसकेको आरोप लगाउँदै तत्काल जिम्मेवारी वहन गर्न नसक्ने स्थितिमा पदत्याग गर्नुपर्ने माग गरेका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत लेख्दै हत्यारामाथि कारबाही र भ्रष्टाचार नियन्त्रणजस्ता मूल विषयमा सरकारले कुनै प्रभावकारी कदम नचालेको टिप्पणी गरेका छन्। उनले भनेका छन्— “देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ सुन्ने गृहमन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्, नेपालीको आशा र आँसु सम्झनुहोस्, काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्।”

दुई महिना पुग्न लाग्दासम्म पनि सरकारबाट कुनै हत्यारा वा भ्रष्ट व्यक्तिमाथि कारबाही नहुँदा आफूहरूले अपमान, चरित्र हत्या र गलत आरोप सहनुपरेको गुरुङको भनाइ छ। उनले भने— “कामले देखाउँछ, कामले बोल्छ भन्ने आशामा बसेँ। जनताले एकदिन बुझ्नेछन्। तर अब तपाइँबाट आशा मरिसकेको छ।”

गुरुङले आगामी निर्वाचनबारे समेत चेतावनी दिँदै जेनजी तथा जनताका माग सम्बोधन नभए चुनाव नै हुन नदिने चेतावनी दिए।
“०८४ को चुनाव ०८२ मा सार्न गरिएका आन्दोलन होइन यो। माग सम्बोधन नहुने हो भने यसपालिको चुनाव हुन दिइने छैन,” उनले भने।

गृहमन्त्री अर्याललाई दुई दिनभित्र स्थिति स्पष्ट गर्ने चेतावनी दिंदै गुरुङले भने— “अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भन्ने सोच्नु भ्रम हो।”

प्रतिक्रिया