राजदूत फिर्ता विवादमा सर्वोच्चको चासो, ‘कारण देखाऊ आदेश’ जारी


काठमाडौं– विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता गर्ने सरकारले गरेको निर्णयको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको भन्दै दायर भएको रिटमाथि न्यायाधीश विनोद शर्माको इजलासले ‘कारण देखाऊ आदेश’ जारी गरेको हो।

अदालतले छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्ने उल्लेख गर्दै दुवै पक्षलाई १४ कात्तिकमा उपस्थित हुने निर्देश दिएको छ।

अन्तरिम सरकारले २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिइएका यी राजदूतहरू निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए।

फिर्ता गरिएका राजदूतहरूमा चीनका प्रा. डा. कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका प्रा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।

 

 

प्रतिक्रिया