मनाङमा एक गाइडकाे लेक लागेर मृत्यु


लमजुङ –  मनाङको नार्पाभूमि गाउँपालिका–५, फू गाउँ जाने क्रममा लेक लागेर एक गाइडको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–७ का ४४ वर्षीय राम थापा मगर रहेका छन्।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार थापा शनिबार दिउँसो ब्रिटिस नागरिकहरूको समूहलाई पथ प्रदर्शकको रूपमा लिएर फू गाउँ पुगेका थिए। फर्किने क्रममा उनी अचानक बिरामी परे।

घटनाको जानकारी आइतबार बिहान करिब ७ बजे प्रहरी चौकी मेतामा पुगेको थियो। प्रहरी निरीक्षक हरिबहादुर पाण्डेको कमाण्डमा तीन जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो। थापा सोही समयमा नार्पाभूमि गाउँपालिका–२, मेतास्थित केरेला होटलमा बास बसेका थिए।

प्रहरीका अनुसार हेली एभरेस्टको हेलिकोप्टरबाट उद्धार गर्नुअघि नै आइतबार बिहान करिब ७:१५ बजे उनको होटलमै मृत्यु भएको सूचना प्राप्त भएको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यालय मनाङबाट प्रहरी निरीक्षक सुनिल लामिछानेको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेको थियो। शव हेलिकोप्टरमार्फत उद्धार गरी सोमबार बिहान १०:२५ बजे सदरमुकाम चामे ल्याइएको थियो।

प्रारम्भिक मुचुल्का र अनुसन्धानपछि शवलाई थप पोस्टमार्टमका लागि दिउँसो १२:२५ बजे शिक्षण अस्पताल, काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए।

 

प्रतिक्रिया