जेनजी प्रदर्शनका क्रममा हराइरहेका हतियार फिर्ता ल्याउन ‘संयुक्त सुरक्षा अपरेसन’


काठमाडौं- जेनजी प्रदर्शनका क्रममा हराइरहेका वा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले अब संयुक्त सुरक्षा अपरेसन सञ्चालन गर्ने भएको छ। गृह सचिवस्तरीय निर्णयअनुसार आइतबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर यस विषयमा आवश्यक कदम चाल्न निर्देशन दिएको छ।

गृह मन्त्रालयले भनेको छ, “जेनजी पुस्ताको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायसँगै हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरूले संयुक्त र प्रभावकारी ‘सेक्युरिटी अपरेसन’ सञ्चालन गर्नेछन्। साथै, अवैध हातहतियार नियन्त्रणका लागि आवश्यक सबै कदम उठाइनेछ।”

निर्देशनमा सभा, सम्मेलन, बैठक वा विरोध कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक ढंगबाट सञ्चालन गर्नुपर्ने स्पष्ट गरिएको छ। अन्य पक्षलाई उत्तेजित नगरी पूर्वस्वीकृति लिएर मात्र कार्यक्रम गर्नुपर्ने व्यवस्था पनि उल्लेख गरिएको छ।

त्यस्तै, राष्ट्रिय वा अन्तर्राष्ट्रिय असर पर्ने, अपराध नियन्त्रणमा समस्या सिर्जना गर्ने वा शान्ति सुरक्षामा गम्भीर प्रभाव पार्ने घटनाको सूचना तत्काल मन्त्रालयमा प्रमुख जिल्ला अधिकारीमार्फत दिइनुपर्नेछ।

प्रतिक्रिया