तिहारमा मिठुमायाको सपना पूरा, मुख्यमन्त्री बानियाँले बनाइदिए पक्की घर


हेटौँडा- तिहारको पूर्वसन्ध्यामा जब मिठुमाया सुनार नयाँ पक्की घरको ढोकाबाट भित्र पसिन्, उनको आँसु रोकिन सकेन। तर त्यो आँसु दुःखको थिएन। जीवनभरको संघर्षपछि पहिलो पटक सुरक्षित छानामुनि बस्न पाउँदाको खुसी उनकाे अनुहारमा देखिन्थ्याे।

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे बारघरेकी ३३ वर्षीया मिठुमाया वर्षौँदेखि जस्तापाताले टालिएको, घाम–पानी दुवै छिर्ने घरमा चार साना छोराहरूसँग गुजारा गर्दै आएकी थिइन्। पाँच वर्षअघि गरिबीले पतिको ज्यान लियो। उनले विष सेवन गरेर आत्महत्या गरेका थिए। त्यसपछि उनले एक धुर जमिन नभए पनि ज्यालादारी मजदुरी गरेर चारै बालकलाई पालेकी छन्। साहिलो छोरा अपाङ्गता भएको छ र उनले राज्यको एकल महिलाको भत्ताले मात्र केही राहत पाएकी थिइन्।

तर यस तिहार उनको जीवनमा नयाँ प्रकाश झल्किएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नै सरकारी सेवा सुविधाबाट खर्च गरेर मिठुमायाको लागि पक्की घर निर्माण गरी आइतबार एक समारोहबीच गृहप्रवेश गराएका हुन्।

भान्छासहित तीन कोठा र शौचालययुक्त घर करिब पाँच लाख रुपैयाँको लागतमा डेढ महिनाभित्र बनेको हो।  घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले भने, “यो केवल एउटा घर होइन, आशाको जग हो। अब बागमती प्रदेश सरकारले यस्ता असहाय परिवारका लागि नीति बनाएर घर निर्माणमा सहयोग गर्नेछ।”

कार्यक्रममा प्रदेशकी सहकारी मन्त्री बिनु रायमाझी, गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतले मिठुमायाको संघर्षको कथा सुनेका थिए।

स्थानीयवासी र पालिकाको सिफारिसमा पक्की घर बनाउन पहल गरेका मुख्यमन्त्री बानियाँको यो कदमले गाउँमै चर्चा पाएको छ।

प्रतिक्रिया