
भदौ २४ को आगजनीमा महानगरको दमकल ढिलो पुगेको भन्दै वडाध्यक्षहरू आक्रोशित
काठमाडौं- काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीका घटनामा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन्। तर, महानगरको विपद् व्यवस्थापन समितिले त्यसमा आफ्नो पक्ष राख्दै आरोपको प्रतिवाद गरेको छ।
शुक्रबार बसेको बैठकमा भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा देशभर भएका हिंसात्मक घटनाबारे कुनै एजेन्डा नसमेटिएकोप्रति पनि वडाध्यक्षहरूले असन्तुष्टि जनाए।
वडा नम्बर ७ का वडाध्यक्ष विमल कुमार होडाले बैठकमा यस्तो संवेदनशील विषयसम्बन्धी छलफल नै नहुने कुरा दुःखद भएको बताए। “देशभर यत्रो ठूलो घटना भयो, तर यहाँ एजेन्डा नै छैन। न मृतकलाई श्रद्धाञ्जली भनियो, न विध्वंसको भर्त्सना गरियो,” उनले भने, “यत्रो सम्पदा ध्वस्त भयो, त्यसप्रति हामीले आपत्ति जनाउनुपर्छ कि पर्दैन?”
त्यस्तै वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले पनि घटनाबारे समीक्षा आवश्यक रहेको भन्दै एजेन्डा नसमेटिएकोमा खेद प्रकट गरे। “देशभर क्षति भयो, तर काठमाडौंमा प्रभाव बढी रह्यो। धेरै सम्पदा जलेर खरानी हुँदा हामी टुलुटुलु हेरेर बस्नुपर्यो। यो हत्या, हिंसा, लुटपाट र आगजनीप्रति हामीले खेद व्यक्त गर्नुपर्छ,” उनले भने।
वडा नम्बर ५ का वडाध्यक्ष श्रेष्ठले सिंहदरबार जलेर खरानी हुँदा ‘रुन मन लागेको’ भन्दै त्यसको पुनर्निर्माणमा महानगरले अग्रसर हुनुपर्ने प्रस्ताव गरे। उनले घटनाका बेला महानगरको दमकल ढिलो पुगेको गुनासोसमेत गरे। “रेकर्ड हेर्दा दमकल समयमै निस्केको देखिन्छ, तर ठूलो क्षति भइसकेपछि मात्रै पुगेको हो। छिमेकी महानगरपालिकाबाट दमकल आएर आगो निभाएको खबर पढ्दा दुख लाग्छ,” श्रेष्ठले भने।
अन्य वडाध्यक्षहरूले पनि दमकल परिचालनमा समन्वयको कमी भएको भन्दै प्रश्न उठाए। त्यसपछि महानगर प्रहरी प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक एसपी विष्णु प्रसाद जोशीले जवाफ दिँदै दमकल परिचालनमा अथक प्रयास भएको बताए।
उनले भने, “दमकल तुरुन्तै परिचालन गरिएको थियो, तर बाटोमा भएका अवरोध र भीडका कारण ढिलो पुग्न बाध्य हुनुपर्यो।”



कागजपत्र |
