
देउवा दम्पतीमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्न नेविसंघको माग
काठमाडाैं- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल कडा कारबाही गर्न माग गरेको छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार प्रहरी प्रधान कार्यालय नक्साल पुगेर औपचारिक रूपमा मागपत्र बुझाएका हुन्। उनले देउवा दम्पतीमाथि भएको आक्रमण ‘सुनियोजित र सांघातिक’ रहेको भन्दै त्यसमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन्।
मागपत्रमा भनिएको छ, “सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि सुनियोजित ढंगले भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धान गरी विद्यमान कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्न नेविसंघ जोडदार माग गर्दछ।”
नेविसंघले भदौ २४ को घटनालाई भड्काउने र भिडलाई उत्तेजित पार्ने भूमिका काठमाडौं महानगरका मेयर बालेन शाहले खेलेको आरोप पनि लगाएको छ। संगठनले मेयर शाहलाई पनि कानूनी दायरामा ल्याई छानबिन गर्न माग गरेको छ।
त्यसैगरी, कारागारबाट कैदीबन्दी भगाएको र कागजात कीर्ते गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित डीपी अर्याल, मनीष झा र हरि ढकालमाथि पनि तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्न नेविसंघले माग गरेको छ।



कागजपत्र |
