कर्नाटकमा महिला कर्मचारीलाई हरेक महिनामा एकदिन तलबी महिनावारी बिदा


बेंगलुरु — भारतको कर्नाटक राज्य सरकारले ऐतिहासिक कदम चालेको छ। राज्य सरकारले महिनावारी बिदा नीति २०२५ स्वीकृत गर्दै महिला कर्मचारीहरूलाई हरेक महिनामा एक दिनको तलबी बिदा दिने व्यवस्था गरेको छ।

मुख्यमन्त्री सिद्दारमैयाले बिहीबार सामाजिक सञ्जालमार्फत यो नीतिको घोषणा गर्दै भने, “महिनावारी बिदा नीति २०२५ अन्तर्गत कर्नाटकभरिका महिला कर्मचारीहरूले अब प्रत्येक महिना एक तलबी बिदा पाउनेछन्। यो अझ मानवीय, समझदार र समावेशी कार्यस्थलतर्फको एक महत्वपूर्ण कदम हो।”

नयाँ नीतिअनुसार, महिला कर्मचारीहरूले वर्षभरमा कुल १२ दिन तलबी महिनावारी बिदा पाउनेछन्। यो नीति सरकारी कार्यालय, गार्मेन्ट उद्योग, बहुराष्ट्रिय कम्पनी, सूचना प्रविधि क्षेत्र र निजी संस्थामा कार्यरत महिलाहरू सबैमा लागू हुनेछ।

महिनावारी बिदा नीति क्राइस्ट विश्वविद्यालयकी कानुन संकाय प्रमुख सपना एसको अध्यक्षतामा गठित १८ सदस्यीय समितिको सिफारिसमा तयार पारिएको हो। समितिमा उद्योग क्षेत्र, ट्रेड युनियन, सरकारी विभाग, चिकित्सक, स्त्री रोग विशेषज्ञ, सामाजिक तथा आर्थिक परिवर्तन संस्थान र क्राइस्ट विश्वविद्यालयका प्राध्यापकहरू समेत सहभागी थिए।

राज्य सरकारले यो निर्णयलाई कार्यस्थलमा लैङ्गिक समानता र महिलाको स्वास्थ्य सुरक्षाका दृष्टिले ऐतिहासिक कदमका रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया