
वायुसेवा निगममा भएको अनियमितता छानबिन गर्न जेन–जीको माग
काठमाडौं- जेन–जी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ।
आइतबार जेन–जी समूहका प्रतिनिधिहरूले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीका अनुसार ज्ञापनपत्रमा वाइडबडी र लाउडा एयर घोटालासम्बन्धी छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, अदालतबाट दोषी ठहर भएका तर कार्यान्वयन नभएका व्यक्तिलाई तत्काल कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग समावेश गरिएको छ।
त्यसैगरी, जेन–जीले करार कर्मचारी संख्या घटाउने, निगममा पारदर्शी प्रणाली लागू गर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गर्ने लगायतका माग पनि राखेको छ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनैतिक हस्तक्षेप भएको स्वीकार गर्दै, वाइडबडी र लाउडा एयर काण्ड पनि सो समयको भएकाले अनियमितता उत्पन्न भएको बताए।
उनले जहाज खरिद मात्र नभई बिक्रीमा पनि अनियमितता भएको र बिक्री गर्दा जहाज ग्राउन्डेड गरेर मात्र बिक्री हुने गरेको जानकारी दिए। साथै, निगमको अनियमितता छानबिनमा कर्मचारीहरूले छानबिन समितिलाई सहयोग गरेको पनि उनले बताए।
जेन–जी समूहले सबै भ्रष्टाचार प्रकरणको स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गर्ने माग पनि गरेको छ।
साथै निगमले दुर्गम क्षेत्रमा हवाई रुट थप्नुपर्ने र विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट प्रदान गर्नुपर्ने माग समेत राखिएको छ।



कागजपत्र |
