
भेनेजुएलाकी विपक्षी नेतृ मारियालाई नोबेल शान्ति पुरस्कार
काठमाडौं – भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार दिइने भएको छ ।
भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न र तानाशाहीबाट लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण हासिल गर्न उनी निरन्तर लड्दै आएकी छिन् ।
अधिनायकवादी शासनका कारण भेनेजुएलामा राजनीतिक गतिविधि अत्यन्तै कठिन भएको नोबेल पुरस्कार समितिले बताएको छ ।
माचाडोले लोकतन्त्रको सुधारका लागि काम गर्ने संस्था सुमाते स्थापना गरेकी थिइन् । उनले देशमा स्वतन्त्र र निष्पक्ष चुनावको माग गर्दै आएकी छिन् । उनी यतिबेला लुकेर बसिरहेकी छिन् ।
आइरन लेडीको रूपमा पनि चिनिने माचाडोलाई टाइम पत्रिकाको २०२५ का १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि राखिएको थियो ।
पुरस्कार घोषणा गर्दै नोबेल समितिका अध्यक्षले माचाडोलाई बढ्दो अन्धकारको बीचमा प्रजातन्त्रको ज्वाला बलिरहेको शान्तिको साहसी र प्रतिबद्ध समर्थक भनेर प्रशंसा गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कयौँ महिनादेखि आफूलाई नोबेल शान्ति पुरस्कारका दाबेदार भनिरहेका थिए । तर नोबेल समितिले उनलाई पुरस्कारको लागि छनोट गरेन । विजेताले १ करोड १० लाख स्विडिस क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछिन् ।
समितिले यस वर्ष घोषणा गरेका सबै पुरस्कार डिसेम्बर १० मा ओस्लोमा प्रदान गरिनेछ ।



कागजपत्र |
